दफा
सरकारी सेवाका कर्मचारी समायोजन गर्ने

(१) दफा ३ बमोजिमको सङ्गठन संरचना र दरबन्दीमा दफा ५ बमोजिम प्रकाशित सूचना अनुसार परेको निवेदन समेतको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन संरचना तथा दरबन्दीमा सेवा सञ्चालन गर्ने निकायले दफा ८ मा उल्लिखित आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्नेछ।

(२) उपदफा (१) बमोजिम समायोजन गर्दा देहाय बमोजिम समायोजन   गरिनेछ:-

(क)   सङ्घको सेवामा समायोजन गर्दा सम्बन्धित सेवा, समूह, उपसमूह, श्रेणी वा तहको पदमा,

(ख)   प्रदेशको सेवामा समायोजन गर्दा सम्बन्धित सेवा, समूह, उपसमूहको उपदफा (४) बमोजिम कायम हुने तहमा, र

(ग)   स्थानीय तहको सेवामा समायोजन गर्दा सम्बन्धित सेवा, समूहको उपदफा (४) बमोजिम कायम हुने तहमा।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारी समायोजन अध्यादेश, २०७५ प्रारम्भ हुनु अघि सरकारी सेवामा नियुक्ति भएका तर दफा ३ बमोजिम सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत हुँदा दरबन्दीमा नपरेका स्थायी कर्मचारीको हकमा सम्बन्धित सेवा, समूहको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको भएमा प्रदेश वा स्थानीय तहको सेवाको शैक्षिक योग्यता मिल्ने जुनसुकै सेवा, समूहको पदमा सेवा सञ्चालन गर्ने निकायको सिफारिसमा दफा १७ बमोजिमको निर्देशन तथा समन्वय समितिको निर्णय बमोजिम मन्त्रालयले समायोजन गर्न सक्नेछ।

(४) उपदफा (२) र (३) बमोजिम सरकारी सेवामा श्रेणीगत रुपमा कार्यरत कर्मचारीलाई प्रदेश वा स्थानीय तहमा समायोजन गर्दा कर्मचारीको सेवा अवधि र शैक्षिक योग्यताका आधारमा देहाय बमोजिम तह मिलान तथा ग्रेड (तलब वृद्धि) कायम हुने गरी समायोजन गरिनेछ :-

हालको श्रेणी सेवा अवधि र शैक्षिक योग्यता समायोजन हुने तह समायोजन हुँदा कायम हुने ग्रेड
राजपत्र अनङ्कित द्वितीय पाँच वर्ष भन्दा कम सेवा अवधि सहायकस्तर चौथो तह खाईपाई आएकोमा दुई ग्रेड थप
पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी सेवा अवधि सहायकस्तर पाँचौ तह
राजपत्र अनङ्कित प्रथम पाँच वर्ष भन्दा कम सेवा अवधि सहायकस्तर पाँचौं तह खाईपाई आएकोमा दुई ग्रेड थप
पाँच वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेको र राजपत्र अनङ्कित प्रथम श्रेणीमा सेवा प्रवेश गर्दाको बखत तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको अधिकृतस्तर छैठौं
राजपत्राङ्कित तृतीय

 

पाँच वर्ष भन्दा कम सेवा अवधि अधिकृतस्तर सातौं खाईपाई आएकोमा दुई ग्रेड थप
पाँच वर्ष वा सो भन्दा बढी सेवा अवधि अधिकृतस्तर आठौं
राजपत्राङ्कित द्वितीय

 

पाँच वर्ष भन्दा कम सेवा अवधि अधिकृतस्तर नवौं खाईपाई आएकोमा दुई ग्रेड थप
पाँच वर्ष वा सो भन्दा बढी सेवा अवधि अधिकृतस्तर दशौं
राजपत्राङ्कित प्रथम   अधिकृतस्तर एघारौं खाईपाई आएकोमा दुई ग्रेड थप

(५) श्रेणी विहीन कर्मचारीलाई प्रदेश वा स्थानीय तहको सेवामा समायोजन गर्दा निजले खाईपाई आएको ग्रेडमा दुई ग्रेड थप पाउने गरी समायोजन गरिनेछ।

(६) यस दफा बमोजिम कर्मचारी समायोजन गर्दा कायम हुने तलब निजले साविकमा खाईपाई आएको तलबभन्दा कम हुने भएमा ग्रेड थप गरी तलब मिलान गरिनेछ।

(७) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (४) र (५) बमोजिम प्रदेश वा स्थानीय तहको सेवामा समायोजन गर्दा थप गरिएको ग्रेड त्यस्तो कर्मचारीले पाउने अधिकतम ग्रेड भन्दा बढी हुने भएमा त्यसरी थप भएको ग्रेड समेत दिइनेछ।

(८) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सेवामा तहगत रुपमा कार्यरत कर्मचारीलाई प्रदेश वा स्थानीय तहमा समायोजन गर्नु पर्दा प्रदेश वा स्थानीय तहको सेवाको सम्बन्धित तहमा समायोजन गरिनेछ। यसरी समायोजन भएका कर्मचारीलाई निजले खाईपाई आएको ग्रेडमा दुई ग्रेड थप गरिनेछ। यस्ता कर्मचारीको हकमा उपदफा (६) र (७) को व्यवस्था समेत लागू हुनेछ।

(९) यस दफा बमोजिम सरकारी सेवाका कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्दा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिका पदमा नेपाल सरकारले तथा अन्य पदमा सम्बन्धित सेवा सञ्चालन गर्ने निकायले समायोजन गर्नेछ।

(१०) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका-संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम गठन भएको नेपाल व्यवस्थापिका-संसद सेवाका कर्मचारीलाई सङ्घ¸ प्रदेश र स्थानीय तहमा समायोजन गरिनेछ ।

(११) उपदफा (१०) बमोजिम समायोजन हुने कर्मचारीको विवरण संघीय संसद सचिवालयले यो ऐन प्रारम्भ भएको सात दिन भित्र मन्त्रालयमा पठाउनेछ र यस्तो विवरण प्राप्त भएको सात दिन भित्र मन्त्रालयले समायोजन गर्नेछ। यसरी समायोजन गर्दा यस ऐनको दफा ८ को अधीनमा रही नेपाल व्यवस्थापिका-संसद सेवाको सामान्य प्रशासन समूहका कर्मचारीलाई प्रदेश निजामती सेवाको प्रशासन सेवा¸ सामान्य प्रशासन समूह वा स्थानीय सेवाको प्रशासन सेवा¸ सामान्य प्रशासन समूहको पदमा र अन्य समूहका कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेछ।

(१२) उपदफा (११) बमोजिम समायोजन हुने कर्मचारीको सरुवा¸ बढुवा¸ ज्येष्ठताको गणना यस ऐन बमोजिम समायोजन हुने सरकारी सेवाका कर्मचारी सरह  हुनेछ ।